प्रधानमन्त्री डा. भट्टराईले आफ्नो सम्पत्ति विवरण बुझाए:
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सम्पत्ति विवरण मन्त्रिपरिषद कार्यालयलाई बुझाएका छन् । उनले आफ्नो नाममा नगद चार लाख बैंकमा रहेको र गोरखा जिल्ला खोप्लाङ ४ मा करिब दुई रोपनी बाँझो जग्गा रहेको विवरण मन्त्रीपरिषदमा बुझाएका हुन् ।
आफ्नो नाममा रहेको चार लाख मन्त्री तथा सभासदको वेतन र भत्ताबाट बचत रहेको विवरण पनि भट्टराईले देखाएका छन् । उनले खोप्लाङमा करिब दुई रोपनी पाखो बाँझो जग्गा आफ्नो नाममा रहेको तर सो जग्गा बेच्ने क्रममा लालपुर्जा खाली राख्नु हुन्न भनी छाडिएको विवरण उल्लेख गरेका छन् । उनले पार्टीको स्करपियो गाडी प्रयोग गर्ने गरेको पनि देखाएका छन् । प्रधानमन्त्री भट्टराईले आफुसँग सुन, चाँदी, ऋण, पशु तथा पशुधन, कुनै पनि कम्पनीको सेयर र घर नभएको विवरण दिएका छन् ।
प्रधानमन्त्री भट्टराईले जनविद्रोहकालमा पार्टी निर्णय अनुसार आफ्नो नामको सबै सम्पत्ति बेचेर पार्टी काममा लगाएको जनाएका छन् । उनले छोरीको नाममा रहेको अचल सम्पत्तिको विवरण पनि सार्वजनिक गरेका छन् । प्रधानमन्त्री डा. भट्टराईले छोरी मानुषी यमी भट्टराईको नाममा राष्ट्रिय वाणिज्य बैंकमा नगद १० लाख राखेका छन् ।
पत्नी हिसिला यमीको घर बेचेर छोरीलाई अंशका रुपमा दिएको तथा जनयुद्धकालमा उनका ठूली आमाले सहयोगस्वरुप दिएको रकमबाट १० लाख जम्मा पारी बैंकमा राखिदिएको विवरण प्रधानमन्त्रीले खुलाएका छन् । गोरखाको खोप्लाङ गाविसमा सात रोपनी १२ आना एक दाम खेत र करिब १० रोपनी पाखो पिताले नातिनी मानुषीका नाममा बकसपत्र गरी दिएको विवरण पनि प्रधानमन्त्रीले सार्वजनिक गरेका छन् ।
No comments:
Post a Comment